दफा ४२
श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिने
(१) बुझ्नु पर्ने साक्षी विदेशमा रहेको, शारीरिक रूपमा अशक्त वा बालबालिका भएको, सुरक्षा वा अन्य कुनै कारणले निजलाई अदालतमा उपस्थित गराउन नसकिने मनासिब आधार देखाई पक्षले निवेदन दिएमा र अदालतले सो अवस्था देखेमा श्रव्यदृश्य संवाद मार्फत त्यस्तो साक्षी बुझ्न आदेश दिन सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियममा उल्लिखित साक्षीका अतिरिक्त अदालतले उपयुक्त देखेका कुनै खास अवस्थाका साक्षीको परीक्षण श्रव्यदृश्य संवाद मार्फत गराउन आदेश दिन सक्नेछ।
(३) यस नियम बमोजिम श्रव्यदृश्य संवाद मार्फत बकपत्र गराउँदा अदालतको अनुमति लिई मुद्दाको पक्ष त्यस्तो संवाद स्थलमा उपस्थित भई सोधपुछ, जिरह वा पुनः सोधपुछ गर्न सक्नेछ।
(४) यस नियम बमोजिम भएको साक्षीको बकपत्र विद्युतीय माध्यममा अभिलिखित गरी सो को हुबहु टिपोट गरी इजलासमा उपस्थित सदस्य, बकपत्रमा संलग्न कर्मचारी र उपस्थित भएसम्मका पक्ष र निजका कानून व्यवसायीहरु समेतको सहिछाप गराई मिसिल सामेल गर्नु पर्नेछ।